सुजाताले भनिन्- जनतामा कांग्रेस ‘ड्यामेज’ भइरहेको छ
२६ मंसिर, काठमाडौं । केही जिल्लाहरुको भ्रमण गरेर राजधानी फर्किएकी कांग्रेस नेतृ सुजाता कोइरालाले केही नेताहरुले पार्टीलाई उल्टो बाटो हिँडाएर जनतामा बदनाम गराइरहेको आरोप लगाएकी छन् ।
भूकम्पबाट ध्वस्त संरचनाहरुको पुननिर्माणसम्बन्धी विधेयक अघि बढ्न नदिनु पार्टीको ठूलो भूल भएको भन्दै नेतृ कोइरालाले यसबाट कांग्रेस बदनाम भएको बताइन् ।
अनलाइनखबरसँग कुरा गर्दै कोइरालाले भनिन्- ‘यो के भइरहेको हो मैले बुझ्न सकेकी छैन, बाहिर जनताबीच कांग्रेस ड्यामेज भइरहेको छ । भूकम्पपीडित जनतामाथि कांग्रेसले अपराध गरेको आरोप आइरहेको छ ।’
आफू दुई दिनसम्म संसद बैठकमा गए पनि कांग्रेसले किन प्राधिकरण विधेयक पेश हुन दिएन भन्ने बुझ्न नसकेको कोइरालाको भनाइ छ । ‘हाम्रो नेतृत्व पूरै असफल भएको छ, कसले निर्णय गर्ने, कसले निर्देशन दिने
भूकम्पपीडितहरु खुला आकासमुनि बाँच्न बाध्य भइरहेका बेला प्राधिकरण सम्बन्धी ऐन पारित नगर्नु उनीहरुको पीडामाथि नूनचूक छर्ने काम भएको कोइरालाले बताइन् ।
कांग्रेसले संविधान संशोधन विधेयकसमेत सँगै पेश हुनुपर्ने भनेर लिएको अडानको पनि कोइरालाले बिरोध गरिन् । सीमांकनमा कुरा नमिलेसम्म अहिले संविधान संशोधन गर्न आवश्यक नरहेको उनले प्रष्ट पारिन् ।
‘संविधान संशोधन किन गर्ने ? समावेशी समानुपातिक यो संविधानमै छ,जनसंख्याका आधारमा निर्वाचन क्षेत्र भनिएकै छ, मधेशी मोर्चाको माग सीमांकनमा हो, यसको कुरा नमिली संशोधन विधेयक किन चाहियो ?’ कोइरालाले प्रश्न गरिन् ।
आफू एक सातासम्म मध्य र सुदूरश्चिमको भ्रमण गर्न जाँदा कार्यकर्तामा कांग्रेस नेतृत्वप्रति घोर निराशा पाएको र पार्टी जनताबीच बदनाम भएको अनुभव गरेको कोइरालाले सुनाइन् ।
उनले भनिन्- हिजो सुशील दाइले प्रधानमन्त्रीमा उम्मेदवारी दिएर ठूलो गल्ती गर्नुभयो, आज प्राधिकरण विधेयक पेश हुन नदिएर झन् ठूलो गल्ती भइरहेको छ, यो कांग्रेसलाई सिध्याउने खेल हो ।
आगामी महाधिवेशनमा सभापतिको दाबी गरिरहेकी कोइरालाले अब कांग्रेसमा नयाँ नेतृत्व आवश्यक रहेको बताइन् । आफूलाई सभापति उठ्न कार्यकर्ताबाट दबाव आएको उनले दाबी गरिन् ।
‘साथीहरुले तन, मन र धनले सघाउँछौं, तपाई उठ्नुस भनेका छन्, म अब पूर्व र मधेसको भ्रमण गरेपछि आफ्नो धारणा सार्वजनिक गर्छु’ कोइरालाले अनलाइनखबरसँग भनिन् ।

